२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले विद्यार्थीलाई अतिरिक्त रोजगारी (पार्ट टाइम जब) को व्यवस्थामा कुनै समयसीमा नलगाइ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राखेको संशोधनमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् ।
नीति तथा कार्यक्रममा चाहिँ बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दै’ को नीति लागु गरिने उल्लेख गरिएको छ ।
उक्त रोजगारी दिने केही संस्थालाई कर छुट दिइ यो व्यवस्था लागू गर्न उनले सुझाव दिएकी छिन् ।
उनले संशोधनमाथिको छलफलमा भाग लिने क्रममा कम्तीमा बजेट प्रस्तुत हुनु भन्दा ३ महिना अघि नै निती तथा कार्यक्रम पेश गर्ने, छलफल गर्ने पहिलेकै अभ्यासले निरन्तरता पाउनुपर्ने बताए ।
उनले आफूहरूले राखेको संशोधन र छलफलले स्थान नपाउनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
‘आजको यो संशोधन र छलफलले कहाँ स्थान पाउँछ ? कुन राम्रो संशोधन समेटिन्छ । कृपया स्पष्टसँग मन्त्रीज्यूले फलानो माननीयको फलानो संशोधन राम्रो लाग्यो, संशोधन स्वीकार गछुए भन्ने शब्दमै संशोधन स्वीकार गरेर मेरो शंकालाई गलत सावित गर्न अनुरोध गर्दछु,’ उनले भनिन् ।
अघिल्लो आर्थिक वर्षमा तय भएका नीति तथा कार्यक्रमको प्रगति विवरणसहित यसको औचित्य पुष्टि हुने उनले बताइन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियायजना, नदीजन्य स्रोतको व्यवस्थापन, जलविद्युत आयोजना, प्रमुख शहरमा वेस्ट वाटर ट्रिटमेन्ट, पर्यटन नीति लगायतका विषयमा उनले संशोधन हालेकी छिन् ।