काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। एमाले केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२:४५ बजे विशेष पत्रकार सम्मेलन गर्न लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।
उनका अनुसार वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा एमाले अध्यक्ष केपी शर्मा ओलीले राख्नेछन्।
भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरेर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका बाबुछोरालाई पक्राउ नगरेको र १०० किलो सुन प्रकरणमा पनि माओवादी केन्द्र नेतृत्व संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ।
बैठकमा विपक्षी दलका सांसदहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग बनाउनुपर्ने अडान राखिरहेका छन्। उनीहरुले संसदीय छानबीन समिति वा उच्च अदालत/ सर्वोच्च अदालतका बहालवाला/पूर्व न्यायाधीशको नेतृत्वमा पनि छानबिन आयोग गठनको माग गरेका छन्। सीआइबीले गृहमन्त्री/ अर्थमन्त्रीलाई छानबिन गर्न नसक्ने भएकाले आयोगको आवश्यकता भएको दाबी गरेका छन्। सत्ता पक्षकै कतिपय सांसद पनि उच्चस्तरीय छानबीन समिति बनाउन सकिने धारणा राख्दै आएका छन्।
त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको एक सय किलो सुन राजस्व अनुसन्धान विभाग र सशस्त्रको टोलीले बरामद गरेको थियो। सुनको अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले गर्दै आएको छ। राजस्व अनुसन्धान विभागले सुनको अनुसन्धान तार्किक निष्कर्षमा पुर्याउन नसक्ने भन्दै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन तयार भएका हुन्। सुरुमा सुनको अनुसन्धान गर्न प्रहरीलाई दिनेबारे आनाकानी गरेका प्रधानमन्त्री दाहाल दबाबमा परेपछि अहिले सीआईबीलाई दिन तयार भएका हुन्।
सुन तस्करी प्रकरणलाई लिएर प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक लामो समयदेखि प्रभावित हुँदै आएको छ। सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउने विषयमा विभिन्न चरणमा छलफल गरेको बैठक नियमित कार्यसूचीमा जान सकेको छैन। शुक्रबारको बैठकमा पनि एमालेका सांसद बोल्न खोज्दा सत्ता पक्षका सांसदले होहल्ला गरेका थिए। सत्ता पक्षका सांसदले बोल्न नदिएपछि एमालेका सांसदले वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुखले बैठक २९ गतेसम्मलाई स्थगित गरेका थिए।