इन्स्टाग्रामका लागि रिल बनाउने क्रममा तीन तलाबाट खस्दा भारतीय युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ‘आसिफ’ नामका २० वर्षीय युवक रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
गत शनिबारको यस घटनाको सीसीटिभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल छ । ‘फ्रि प्रेस जर्नल’का अनुसार यस घटनामाथि सराफा पुलिस स्टेसनले अनुसन्धान गरिरहेको छ ।
भाइरल भएको भिडिओमा घरको ग्यालरीमा पाँच युवक देखिन्छन् । त्यसमध्ये एक जना भिडिओ खिच्नका लागि भुईँमा बसेर भिडिओ रेकर्ड गर्न थाल्छन् । अर्का युवक त्यही ग्यालरीको भुईँमा बस्छन् । ग्यालरीमा खाली भाग छोडिएको हुन्छ । जसलाई फलामको दुई ओटा रेलिङले ढाकिएको छ ।
पहिलो पटक युवक स्लो मोसनमा उक्त रेलिङमाथि हिंड्छन् । उनलाई त्यसरी हिंड्दा केही नमिलेको जस्तो लाग्छ र रेलिङ उठाउन खोज्छन् । त्यही क्रममा उनी चिप्लिएर खाली भागमा छिर्छन् । उनका एक साथीले निकाल्ने प्रयास पनि गर्छन् । तर, सबै बल एउटै हातमा परेपछि माथि सार्न सक्दैनन् । जसले गर्दा खाल्डोभित्र परेका युवक भुईँमा बजारिन पुग्छन् ।
उनी लड्दा गर्धनमा गम्भीर चोट परेको बताइएको छ । त्यस लगत्तै उनलाई नजिकैको अस्पतालमा लगिएको थियो । त्यहाँका डाक्टरले युवकको निधन भइसकेको पुष्टि गरे ।
पछिल्लो समय भारतमा यसरी रिल्स बनाउने क्रममा ज्यान गुमाउने गरेका घटना बढ्दै गएका छन् । केही समयअघि रेलको छेउमा भिडिओ बनाउने क्रममा त्यसमा ठोक्किंदा एक युवकले ज्यान गुमाएका थिए ।