३ असोज,। सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबैजसो प्रमुख नेताहरु पोखरा आइपुगेका छन् ।
कतिपय नेताहरु रविलाई पछ्याउँदै सडक मार्गबाट पोखरा आएका थिए । कतिपय नेता भने शनिबार विहान विमानमार्फत आए । उनीहरुकै अग्रसरतामा पोखरामा प्रदर्शनसमेत भएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका रविलाई प्रहरीले शुक्रबार साँझ पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो । सडकमार्गबाट बिहान करिव ३ बजे पोखरा ल्याइएका उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ । उनलाई भोलि आइतबार अदालत पेश गर्ने तयारी छ ।
सहकारी पीडितहरु पनि जिल्ला प्रहरी कार्यालय बाहिर पुगेका थिए । आफू गृहमन्त्री हुँदा पटक पटक आश्वासन दिएर पनि जीबी राईलाई पक्राउ नगरेको भन्दै पीडित आक्रोशित थिए ।
सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगानी भएको भन्दै पीडितले जाहेरी दिएका थिए । त्यही पूरक जाहेरी र संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा रवि पक्राउ परेपछि पीडितले न्यायको आशा गरिरहँदा रास्वपाका नेता कार्यकर्ता भने निकै आक्रोशित देखिएका छन् ।
रास्वपाले भने राजनीतिक पूर्वाग्रह राखेर रविलाई पक्राउ गरेको भन्दै सडक प्रदर्शन थालेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भयो । प्रमुख नेताहरु पोखरामा गएका कारण माइतीघरमा भएको प्रदर्शनमा शिशिर खनाल, गणेश कार्कीलगायतका नेता मात्र देखिए ।
पोखरामा भने रास्वपाका प्रमुख नेताहरुले सम्बोधन नै गरे । पोखराको जिरो किलोमिटरमा रहेको रास्वपाको कार्यालयदेखि मानवअधिकार चोक चिप्लेढुंगाम्म प्रदर्शन गरे । रास्वपाकै सांसदसमेत सदस्य रहेको संसदीय समितिले सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको र त्यसमा रविसहित चार जनालाई कानुन बमोजिम कारबाही गर्न सर्वसम्मत सिफारिस गरेको थियो ।
त्यही प्रतिवेदन कार्यान्वयनका क्रममा रवि पक्राउ गर्दा ‘प्रतिशोध’ भनेर प्रदर्शनमा उभिएका रास्वपाका नेता कार्यकर्ताले ‘असली सहकारी ठगहरु’ भन्दै कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सांसद सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको तस्वीर भएको प्लेकार्ड समेत बोकेका थिए ।