राप्ती चितवन – चितवनको राप्ती नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । जिल्लाका अन्य पालिकामा यसअघि नै यो कार्यक्रम कार्यान्वयनमा छ । नगरपालिकाको आफ्नै अस्पताल भए पनि राप्तीमा मात्र स्वास्थ्य बिमा लागू भएको थिएन । नयाँ जनप्रतिनिधिको अथक मिहिनेतपछि यो कार्यक्रमले मूर्तरुप पाएको हो ।
अस्पतालले बिमा कार्यक्रम लागू गर्नका लागि आवश्यक मापदण्ड पूरा नभएको भन्दै यसअघि स्वीकृति पाएको थिएन । आवश्यक मापदण्ड पूरा गरी स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गरी बुधबारदेखि यो कार्यक्रम लागू भएको हो ।
राप्ती नगरप्रमुख शमशेर लामाले एक कार्यक्रमका बीच ७४ वर्षकी खिमाकुमारी सिलवाललाइ स्वास्थ्य बिमाको टिकट र औषधि हस्तान्तरण गर्दै यो सेवाको शुभारम्भ गरे । भण्डारा अस्पतालमा बिमा लागू नहुँदा राप्तीका सेवाग्राहीहरु खैरहनी र रत्ननगर अस्पताल धाउन बाध्य थिए । ‘यहाँका बिरामी सामान्य औषधिका लागि बाहिरी अस्पताल जानुपथ्र्यो’, मेयर शमशेर लामाले भने, ‘अब आफ्नै नगरको अस्पतालबाट सहजरुपमा सेवा पाउने छन्, यो खुसीको कुरा हो, यसलाई सदुपयोग गर्नुस् ।’ यो कार्यक्रम कार्यान्वयनपछि अब नगरवासीको स्वास्थ्य उपचारमा सहज हुने उनले विश्वास लिए ।
राप्ती नगरपालिकाले वडा–वडाबाट निःशुल्क बिमा गर्ने व्यवस्था मिलाएको छ । यो कार्यक्रमबाट विशेषगरी गरिब, विपन्न समुदायका परिवार लाभान्वित हुनेछन् । यो नगरपालिकाका चारवटा पहाडी वडा गरिबीको रेखामुनि छन्, जहाँ चेपाङ समुदायको बाहुल्यता छ । अस्पतालको विषयमा गाउँ–गाउँमा गएर प्रचार गरिनुपर्ने भन्दै स्वास्थ्य बिमा सुरू भएको विषयमा सबैमाझ सन्देश प्रवाह गर्न प्रमुख लामाले आग्रह गरे ।
कार्यक्रममा राप्ती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले राप्ती नगरपालिकाले जनता खुसी पार्ने काम गरेको उल्लेख गर्दै जनताको स्वास्थ्यमा कत्ति पनि सम्झौता गर्न नहुने बताए ।
पछिल्लो समय भण्डारा अस्पतालप्रति जनताको विश्वास बढी रहेको अस्पतालका प्रमुख विनोद रिजालले बताए । अहिले पहाडी क्षेत्रको मात्र नभई तल्लो भेगका वडाका जनता पनि नियमित उपचारमा आउने गरेको उनको भनाइ रहेको छ । राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले स्वास्थ्य बिमालाई चुस्त र व्यवस्थित बनाउन गरिनुपर्ने सबै काम गरिसकेको बताए ।
राप्ती नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । निःशुल्क शिक्षा यसै वर्षदेखि लागू गरेको यो नगरपालिकाले भण्डारा अस्पतालको स्तरोन्नति गर्दै ओपिडी भवन सञ्चालनमा ल्याइएको थियो । बिरामीको सहजतालाई मध्यनजर गर्दै बिरामी हुँदा उपचारमा लाग्ने रगतको खर्चसमेत नगरपालिकाले उपलब्ध गराउने गरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवन, रक्तसञ्चार केन्द्र भरतपुरसँग सम्झौता गरेर कार्यान्वयनमा छ ।