जब कसैको शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम हुन्छ, यसलाई न्यून रक्तचाप भनिन्छ । तर मानिसहरूले न्यून रक्तचापलाई गम्भीर रूपमा लिंदैनन् । जबकि शरीरमा कम रक्तचापका कारण आवश्यक अंगहरुमा पूर्ण रगत पुग्दैन, जसले गर्दा तिनीहरूको काममा बाधा पुग्छ ।
मानिसको शरीरमा हुनुपर्ने सामान्य रक्तचाप १२०/८० हो । यसबाट अलिकति तलमाथि हुँदा फरक पर्दैन । माथिल्लो रक्तचाप ९० देखि १२० सम्म रह्यो भने त्यो सामान्य हो । तल्लो रक्तचाप ६० देखि ८० सम्म भयो भने त्यो पनि सामान्य नै हो । तर माथिल्लो ९० भन्दा तल र तल्लो ६० भन्दा तल गयो भने त्यो न्यून रक्तचाप हो ।
न्यून रक्तचाप हुनु पनि स्वास्थ्य समस्या नै हो । न्यून रक्तचाप भएर रिंगटा लाग्ने, मुटुको धड्कन बढ्ने, कमजोर महसुस हुने, आँखा धमिलो हुने जस्ता लक्षण देखा पर्न सक्छन् ।
न्यून रक्तचाप हुँदा शरीरमा रगतको दबाब कम भएर मुटु, किड्नी, फोक्सो र दिमाग जस्ता अंगसम्म पूरा रगत पुग्न सक्दैन । त्यसैले न्यून रक्तचाप के कारणले भएको हो भन्ने कुरा पत्ता लगाउनु जरुरी हुन्छ ।
न्यून रक्तचाप हुन सक्ने कारण
न्यून रक्तचाप हुनुमा एउटा मात्र नभएर विभिन्न कारण हुन सक्छ । मुटुको समस्याको कारण फोक्सोमा हावा जम्दा, कुनै औषधि सेवन गर्दा पनि रक्तचाप कम हुन्छ । साथै लामो समय पानी नखाई बस्दा डिहाइड्रेसन भएर, झाडा बान्ता भएको बेला, तनाव धेरै भयो भने र सेप्सिस भयो भने पनि रक्तचाप कम हुन सक्छ ।
पुरुषको तुलनामा महिलाको रक्तचाप न्यून
महिलामा हुने विभिन्न हार्मोनहरुको कारण पुरुषको तुलनामा महिलाको रक्तचाप कम हुन्छ । साथै पुरुषको र महिलाको स्वभावमा भिन्नता र पुरुषको तुलनामा कम तनाव लिने भएको हुनाले पनि महिलाको रक्तचाप पुरुषको तुलनामा कम हुन सक्छ ।
न्यून रक्तचापको प्राथमिक उपचार
न्यून रक्तचाप हुँदा घरमै प्राथमिक उपचार गर्न सकिन्छ । न्यून रक्तचाप भएर चक्कर लाग्यो भने उभिइराख्नु हुँदैन । सजिलो गरी सुतेर खुट्टा माथि उठाउनुपर्छ । खुट्टा माथि उठाइयो भने शरीरमा रक्तसञ्चार राम्ररी हुन्छ र रक्तचाप सामान्य अवस्थामा आउन सक्छ ।
डिहाइड्रेसनको कारण रक्तचाप भएको छ भने पानीमा थोरै नुन राखेर र अन्य झोलिलो पदार्थ पिउनुपर्छ जसले प्रेसर बढाउन मद्दत गर्छ ।
उच्च रक्तचापको जस्तो न्यून रक्तचापमा सधैं औषधि सेवन गर्नुपर्ने हुँदैन । कतिपय अवस्थामा प्रेसर ९०-६० छ । तर चक्कर लाग्ने, कमजोर महसुस हुने जस्ता लक्षण देखा पर्दैनन् भने आत्तिहाल्नु पनि पर्दैन । प्रेसर कम हुने कारण पत्ता लगाएर त्यसको उपचार गरेपछि रक्तचाप सामान्य अवस्थामा आउँछ ।
(धुलिखेल अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजुसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)