चितवन – माघेसङ्क्रान्तिका लागि तरुल, पिँडालु, सखरखण्डको कारोबार बढेको छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ ।
बजारमा अहिले तराईबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, नतरुल, वन तरुल, पतालेतरुलको माग बढेको समितिले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । उपत्यकामा नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटबाट पनि तरुल भित्रिने गरेको समितिले जनाएको छ ।
आज तरूलको भाउ किलोमा १० रूपैयाँले घटेको छ । समितिले आज तरूलको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो तोकेको छ । हिजो तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो थियो ।
आज पिँडालु र सखरखण्डको भाउ किलोको ७० देखि ८० रूपैयाँ तोकिएको छ । माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु, चाकुलगायत खाने चलन छ ।