चितवन – नेपालले एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा साहसिक ब्याटिङ गरेको छ। गत बुधबार घरेलु टोली पाकिस्तानविरुद्ध कमजोर प्रदर्शन गरेको नेपाली खेलाडीले भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए। नेपालका प्रारम्भिक जोडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिलाएपछि मध्यक्रमका खेलाडीले सम्मानजनक योगफलसम्म पु¥याएका थिए। श्रीलंकाको पाल्लेकेल रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै ४८.२ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल खडा गरेको थियो।
भारतीय खेलाडीले तीनवटा क्याच ड्रप गरेका कारण पनि प्रारम्भिक जोडीले उत्कृष्ट सुरुवात गर्न पाएका थिए। पहिलो ओभरको अन्तिम बलमा मोहमद सामीले कुशललाई पेभेलियन फर्काउने राम्रो अवसर सिर्जना गरेका थिए। तर, स्लिपमा रहेका श्रेयस ऐयरले क्याच ड्रप गरेका थिए। त्यसपछि दोस्रो ओभरको पहिलो बलमै मोहमद सिराजले अर्का ओपनर आसिफलाई आउट गर्ने अर्को अवसर सिर्जना गरेका थिए। आसिफले प्रहार गरेको सजिलो क्याच पनि भारतका पूर्वकप्तान विराट कोहलीले फुत्काएका थिए। पाँचौं ओभरको दोस्रो बलमा सामीले कुशललाई अर्को धरापमा पारेका थिए। विकेटकिपर इसन किसनले फुत्काउँदा सो बल चौका भएको थियो।
कुशल र आसिफको जोडीले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए। पहिलो विकेटका रूपमा कुशल पेभेलियन फर्किएका थिए। कुशल र आसिफको साझेदारी टुटेपछि नेपालले लगातार विकेट गुमाएको थियो। कोहलीबाट व्यक्तिगत एक रनको अवस्थामा जीवनदान पाएका आसिफले ५८ रनको अर्धशतकीय पालि खेलेका थिए। निकै संयमतापूर्वक क्रिजमा डटेका आसिफले ९७ बलमा आठ चौका हिर्काए। तल्लोक्रममा ब्याटिङमा आएका सोमपाल कामी भने अर्धशतक बनाउनबाट दुई रनले चुकेका थिए। उनी ४८ रनमा मोहमद सामीको बलमा इसन किसनबाट समातिएका थिए। सोमपालले ५६ बलमा दुई छक्का र एक चौका प्रहार गरे।
विकेटकिपर इसन किसन र श्रेयस ऐ्यरबाट लगातार दुईपटक जीवनदान पाएका ओपनर कुशल भुर्तेलले ३८ रन बनाए। उनले २५ बलमा दुई छक्का र तीन चौका हिर्काए। ६ रन बनाएपछि कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो एक हजार रन पनि पूरा गरेका थिए। कप्तान रोहित पौडेल र आसिफ शेखपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने कुशल तेस्रो नेपाली खेलाडी हुन्। यसैगरी दीपेन्द्रसिंह ऐरीले २९, गुलसन झाले २३ र सन्दीप लामिछानेले ९ रन बनाए। भीम सार्कीले ७ रन बनाउँदा कप्तान रोहित पौडेलले ५ र कुशल मल्लले २ रन मात्रै जोड्न सके। भारतका रवीन्द्र जडेजा र मोहमद सिराजले तीन÷तीन विकेट लिए। यस्तै मोहमद सामी, हार्दिक पाण्ड्या र सार्दुल ठाकुरले एक÷एक विकेट हात पारेका थिए।
२ सय ३१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको भारतले नेपाललाई १० विकेटले हरायो। २.१ ओभरमा १७ रन बनाएको अवस्थामा भारी वर्षा भएपछि खेल करिब दुई घण्टा रोकिएको थियो। वर्षा रोकिएपछि पुनः खेल सुचारु भएको थियो। डकवर्थ लेबिस नियमका आधारमा भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो। १ सय ४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा पूरा गरेको थियो। नेपाली खेलाडीले साहसिक ब्याटिङ गरे पनि बलिङमा भने प्रभाव पार्न सकेनन्। भारतका कप्तान रोहित शर्माले ७४ रन बनाए। उनले ५९ बलमा पाँच छक्का र ६ चौका हिर्काए। यस्तै शुभमन गिलले ६७ रनको योगदान दिए।
जतसँगै भारत ‘सुपर फोर’मा पुगेको छ। वर्षाकै कारण शनिबार पाकिस्तानसँग अंक बाँडेको भारत उपविजेताका रूपमा ‘सुपर फोरमा पुगेको हो। दुई खेलमा तीन अंक जोडेको पाकिस्तानले विजेताका रूपमा ‘सुपर फोर’मा स्थान बनायो। लगातार दुई खेलमा पराजय बेहोरेको नेपाल समूह चरणबाटै घर फर्किएको छ। एसिया कपको डेब्यु खेलमा नेपालले पाकिस्तानलाई २ सय ३८ रनको नतिजा सुम्पिएको थियो।
एसिया कपमा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा भारत, पाकिस्तान र नेपाल छन्। यस्तै समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउने प्रावधान छ। सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। गत मेमा घरेलु भूमिमा भएको एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै नेपालले एसिया कपको टिकट काटेको थियो। नेपालले २१ वर्षपछि एसिया कप खेलेको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपमा छनोट भएको थियो। सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपाल एसिया कपमा छनोट भएको थियो। त्यतिबेला एसीसी ट्रफीको फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुने प्रावधान थियो। नेपालले एसिया कपमा स्थान बनाए पनि प्रतियोगिता नै नभएपछि खेल्न पाएन। भारत र पाकिस्तानबीचको आन्तरिक विवादका कारण सन् २००२ को एसिया कप नै रद्द भएको थियो। जसका कारण नेपाल र यूएईले निराश हुनुपरेको थियो। त्यसयता भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन।