भरतपुर चितवन – चितवनको भरतपुरको मुख्य शहरी क्षेत्रनजिक क्षेत्रपुरमा पर्ने भरतपुर महानगर–२ ले वडाभित्र बाँझो जमिन राख्न नपाउने निर्णय गरेको छ ।
वडा अध्यक्ष मनोज रानाभाटका अनुसार वडाभित्रका कुनै पनि जमिन बाँझो रहन नदिनका लागि टोलहरु मार्फत तथ्याङ्क लिन थालिएको छ । वडा भित्र १८ वटा टोल रहेका छन् । वडा अध्यक्ष रानाभाटले भने “अबको चारदिन भित्रमा सबै तथ्याङ्क संकलन भईसक्छ ।” वास्तविक तथ्याङ्क संकलन भएपछि थाहा हुने भए पनि २५ प्रतिशत जमिन बाँझो रहेको अनुमान गरिएको रानाभाटले बताए । उनले भने “बाँझो जमिनमा कि त आँफै काम गर्नुप¥यो । कि काम गर्नेहरुलाई दिनुप¥यो । अन्यथा जरिवाना नै लगाइने छ ।”
स्थानीय वडावासीले बाँझो जमिन छोडेकाहरुको सो जमिनमा उब्जनी हुनेबराबरको जरिवाना लगाउनुपर्ने सुझाब दिएको भए पनि के कति जरिवाना लगाउने भन्ने विषयमा दररेट टुङ्गो लागिसकेको छैन । वडालाई महानगरकै उत्कृष्ट वडाको रुपमा विकाश गर्न लागिएको भन्दै उनले जमिनलाई बाँझो र झाडीको रुपमा परिणत गर्न नदिने बताए ।
बाँझो जमिनमा खेती गर्दै गर्दा आम्दानी थोरै भए पनि यसले राष्ट्रिय आयमा टेवा पुग्ने उनको भनाइ छ । यो वडामा करिब २५ हजार जनसंख्या छ । महानगरभित्र तीव्र्र विकास भएको वडामध्येमा यो पनि पर्दछ । वडाले जिपिएस प्रविधिबाट घरको नम्बरिङ गर्ने काम पनि अघि बढाउँदै छ ।
रानाभाटका अनुसार सबै घरको विस्तृत तथ्याङ्क वडा कार्यालयसँग रहनेगरी काम गर्न लागिएको हो । वडालाई हरियाली वडाको रुपमा विकास गर्न लागिएको छ । यो भरतपुरको मुख्य बजार नारायणगढनजिक रहेको पुरानो व्यवस्थित बस्ती भएको वडा हो ।