भरतपुर चितवन – लायन्स क्लबले भरतपुर अस्पताललाई तीन थान हेमोडायलासिस मेसिन हस्तान्तरण गरेको छ ।
शुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको उपस्थितिमा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललाई क्लबले तीन थान मेसिन औपचारिकरुपमा हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर नेपालले अस्पताललाई उक्त मेसिन गत असारमै उपलब्ध गराएको थियो । त्यसलाई औपचारिकरुपमा भने शुक्रबार हस्तान्तरण गरिएको लायन्स प्रभाकर पण्डितले जानकारी दिए ।
लायन्सले उपलब्ध गराएको तीनवटा मेसिनसहित भरतपुर अस्पतालमा हेमोडायलासिस मेसिन अब २० वटा पुगेको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा १७ वटा मेसिन नियमित प्रयोगमा आइरहेको छ ।
लायन्सको सहयोगबाट अस्पताललाई उपचार सेवामा थप सहज भएको अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बताए । सरकारी अस्पताललाई सक्षम बनाउनमा यस्तै अन्तर्राष्ट्रिय क्लबहरुको भूमिका मह¤वपूर्ण रहेको अध्यक्ष पौडेलले बताए ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अस्पतालको सिटीका रुपमा विकास हुँदै आएको भरतपुरमा गैरसरकारी संघसंस्थाबाट आएको सहयोगले पनि जनस्तरमा स्वास्थ्यसेवाको पहुँच सहज भएको बताइन् ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गभर्नर आरएस महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्सका तर्फबाट सिद्धार्थलाल चुके, दीननाथ न्यौपाने, नवराज सापकोटा, रामप्रसाद भट्ट, प्रभाकर पण्डित, राजकुमार श्रेष्ठलगायतका सदस्यहरु उपस्थित थिए ।