भरतपुर चितवन – भरतपुर महानगरपालिका वडा नं–१ को कार्यालयले छत तथा टिनको पानी व्यवस्थापन नगर्ने घरधनीलाई कडाइ गरेको छ ।
वडा कार्यालयले सेवा लिन आउँदा छत तथा टिनको पानी व्यवस्थापन गरेको फोटो अनिवार्य ल्याउन आग्रह गरेको छ । भरतपुर–१ का वडाध्यक्ष केशव महर्जनले मंगलबार एक सूचना जारी गरी छत तथा टिनको पानी व्यवस्थापन नगर्ने घरधनी र सदस्यलाई बुधबारदेखि सेवा नदिने बताएका हुन् । विशेषगरी, नारायणगढ बजार क्षेत्रका अधिकांश घरले छतको पानी सोझै फुटपाथ वा सडकमा खसाल्ने गरेका छन् ।
छत तथा टिनको पानी पाइपमार्फत निकासी गर्न वडा कार्यालयले यसअघि असार २० गते र कात्तिक १५ गते सूचना सार्वजनिक गरेको थियो । पटकपटक सूचना जारी गर्दा पनि अटेरी गरिएकोले बुधबारदेखि वडा कार्यालय एक्सनमा जान लागेको वडाध्यक्ष महर्जनले बताए ।
छत तथा टिनको पानी सोझै खसाल्दा फुटपाथका मोज्याक टायल र सडक पिचमा क्षति पुग्नुका साथै पैदलयात्रुलाई समस्या भएको उनले बताए । उक्त पानी व्यवस्थापन गरेको स्पष्ट देखिने गरी खिचेको फोटोसहित निवेदन प्राप्त भएपछि मात्रै सेवासुविधा उपलब्ध गराइने उनको भनाइ छ । मानवीय एवम् संवेदनशील सेवामा भने रोक नलगाइने उनले बताए ।