गोरखा – केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडक खण्ड अवरुद्ध भएको छ । याे सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेमा रहेकाे दीपा पहरो भन्ने ठाउँमा आइतवार हिजाे बेलुकीपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
पहिरोले बेनिघाट आरुघाट सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको उहाँले बताउनुभयो । सडक माथिबाट ठूलाठूला ढुङ्गासहितको पहिरो खसेको स्थानीयले बताएका छन् । पहिराेले दुईतर्फी सडक अवरुद्ध भएपछि गाडी आउजाउ ठप्प भएकाे छ ।
आरुघाट, घाटबेसी, बेनिघाट हुँदै काठमाण्डौ ओहोर–दोहोर गर्ने गाडी चल्न सकेका छैनन् । अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।
‘ठूलाठूला ढुङ्गा पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छ’, उहाँले भन्नुभयो, ‘लगातार वर्ष भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ ।’ पहिरोका कारण फुजेल, बेनिघाट हुँदै काठमाण्डाै चितवनलगायतका सहरमा छुट्ने गाडी अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।