चितवन – कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम शुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मतका लागि ठेक्कामार्फत् काम अगाडि बढेको हो ।
राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी काम अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलले बताउनुभयो । उहाँका अनुसार पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला पुलबाट गड्डाचौकीसम्म ठेक्कामार्फत काम भइरहेको छ ।
राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत भइरहेको उहाँले बताउनुभयो । सडक मर्मत तीन महिनाभित्र काम सक्नेगरी एक करोडमा ठेक्का आह्वान गरिएको र यही पुस मसान्तसम्म अन्तिम म्याद रहेको उहाँले जानकारी दिनुभयो ।
पटके मर्मतका लागि वर्षमा दुईपटक ठेक्का आह्वान गरी काम हुँदै आएको छ । यसैगरी चिसापानीबाट लम्कीसम्मको १० किलोमिटर सडकमा कालोपत्रमाथि कालोपत्रको लेयर थप्ने काम सात करोडमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौताअनुसार यो काम मङ्सिर महिनाभित्रै सक्नुपर्नेमा पुस लागिसक्दा पनि सकिएको छैन ।
निर्माण सामग्री अभावमा व्यवसायीले काम नसकेकाले म्याद थपका लागि निवेदन दिएको उहाँले जानकारी दिनुभयो । अबको ८/१० दिनमा काम सकिने र त्यसका लागि निर्माण व्यवसायीलाई म्याद थप गर्नेबारे प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिग्देलले बताउनुभयो ।