चितवन – नेपाल टेलिकमको कपर केबुलका तारहरु चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा रहेका बिजुलीका पोलहरुमा रहेका टेलिकमको कपर केबुलका तारहरु चोरी भएको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा पोखरा २५ हेम्जा बस्ने वर्ष ५८ का लाल बहादुर नेपाली र भारत मोतिहारी बिहार स्थायी घर भई हाल पोखरा २५ हेम्जा बस्ने वर्ष ३९ का श्यामनाथ जैसवाल रहेको थापाले जानकारी दिए ।
तार चोरको खोजतलास गर्दै जाने क्रममा बिहीबार राति ८ बजेको समयमा पोखरा महानगरपलिका वडा नम्बर १९ लामाचौर स्थित गोस्ते जाने सडक खण्डमा सोही दिशातर्फ जाँदै गरेको ग२च ५३६ नम्बरको मारुती सुजुकी कारलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा तार फेला परेको वडा प्रहरी कार्यालय वगरका प्रमुख बोधराज रेग्मीले जानकारी दिए ।
प्रहरीले कारको पछाडीको सिट तथा डिक्कीमा टुक्रा–टुक्रा रोलिङ गरेको अवस्थामा एक सय मिटर पेएरको १५३ मिटर, ७० पेएरको १३ मिटर, ५० पेएरको २८ मिटर, ३० पेएरको १०४ मिटर र २० पेएरको ३३ मिटर गरी जम्मा ३ सय ३१ मिटर कपर केबुल तार फेला परेको रेग्मीले जानकारी दिए । पक्राउ परेकाहरुलाई बिहीबार अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।