चितवन – नेपाली बजारमा हालै भित्रिएको फोन हाे, ‘बेन्को भी ९१’ । बजेट फोनमा राम्रो स्टोरेज र र्याम खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने फोन हो यो । नेपालमा पेल ग्रीन र मिड नाइट ब्लाक गरी दुई रङमा ‘बेन्को भी ९१’ उपलब्ध छ ।
बजेट फोन भएपनि मोबाइल छामेको भरमा यसको मूल्य भने अनुमान गर्न गाह्रै पर्छ । फोन समाउँदा हातको दाग खासै बस्दैन । यदि बसिहाले पनि सजिलैसँग सफा गर्न सकिन्छ । यसको क्यामेरा बम्प गोलो र ठूलो छ । त्यसमा तीन ओटा क्यामेरा सेटअप पाउन सकिन्छ । त्यही क्यामेरा बम्पले फोन कोरिने सम्भावना भने हुन्छ । तर फोन कभर प्रयोग गर्दा त्यस्तो समस्या हुँदैन ।
फोनको दायाँ भागमा भोल्युम बटन, फिङ्गरप्रिन्ट युक्त पावर बटन छ । बायाँ भागमा एउटा माइक्रो एसडी कार्डसँगै दुई ओटा सिम कार्ड राख्न मिल्ने स्लट पाउन सकिन्छ ।
त्यस्तै फोनको तलको भागमा टाइप-सी पोर्ट र स्पिकर पाउन सकिन्छ । माथिल्लो भागमा ३.५ एमएमको अडियो ज्याक पोर्ट दिइएको छ । फोनको अगाडि टियर ड्रप नच देख्न सकिन्छ । जहाँ सेल्लीको ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । फोनमा ६.५६ इच्को ९० हर्जसम्मको रिफ्रेस रेट भएको आईपीएस एलसीडी डिस्प्ले दिइएको छ ।
यो एन्ड्रोइड १३ मा आधारित फोन हो । फोनमा युनिसोक टी ६०६ अक्टा कोर (UNISOC T606 Octa Core) प्रोसेसर राखिएको छ। यसलाई सुरुवाती तहको प्रोसेर मानिन्छ । जुन सन् २०२१ को मध्यतिर सार्वजनिक भएको चिपसेट हो ।
यो अलि पुरानो भएपनि बजेट फोनका लागि यसलाई पर्याप्त नै मान्न सकिन्छ । साथै फोनमा सामाजिक सञ्चालका एप चलाउन, दैनिक अन्य काम काम गर्न समस्या भने हुँदैन । यसका लागि फोनमा ८ जीबीको र्याम दिइएको छ । साथै भर्चुअल ८ जीबी र्याम बढाउन समेत सकिन्छ । जसले गर्दा पब्जी, फ्री फायर जस्ता गेमहरु ठीकै चल्छन् । तर हेभी गेमहरू भने राम्ररी चल्दैनन् ।
साथै फोनमा पाईने १२८ जीबी स्टोरेज पनि बजेट फोनका लागि राम्रो मान्नुपर्छ । फोनले फाइभ गीगाहर्ज वाई-फाई सपोर्ट गर्छ, जसले गर्दा फोनबाट फास्ट इन्टरनेट चलाउन सकिन्छ ।
क्यामेराको सन्दर्भमा यस फोनमा तीन ओटा ब्याक क्यामेरा छन्, जसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र एउटा एआई क्यामेरा दिइएको छ । यसले १०८० पिक्सेल ३० एफपीएसमा भिडिओ खिच्ने कम्पनीले जनाएको छ । सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।
फोनको मुख्य क्यामेराबाट विभिन्न फिल्टर प्रयोग गरेर फोटो खिच्न सकिन्छ । त्यस्तै फोनबाट ३० एफपीएस (30 FPS) मा १०८० रेजाेलुसनको भिडिओ खिच्न सकिन्छ । फोनमा स्लो मोसन, टाइमल्याप्स, पानोरमा, नाइट जस्ता विभिन्न क्यामेरा मोड छन् ।
फोनमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । त्यस्तै चार्ज गर्न १८ वाटको फास्ट चार्जिङ उपलब्ध गराइको छ । फुल चार्जपछि फोनलाई सामान्य प्रयोग गर्दा दुईदेखि तीन दिनसम्म चलाउन सकिन्छ ।
तर चार्ज गर्नका लागि चाहिँ डेड घण्टा जति लाग्छ। कम्पनीले फोनसँगै चार्जर, इयर फोन, प्लास्टिक कभर, स्क्रिन प्रोटेक्टर उपलब्ध गराउँछ । इयरफोन नयाँ पुस्ताका हिसाबले सोच्दा पुरानो जस्तो लाग्छ तर रेडियो सुन्नेका लागि यो अहिले पनि अनिवार्य जस्तै छ ।
नेपाली बजारमा फोन दुई ओटा भेरियन्टमा उपलब्ध छ । ४ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे फाेनमा थप ४ जीबी र्याम बढाउन सकिन्छ । कम्पनीले यो भेरियन्टको मूल्य १३ हजार ५९९ रुपैयाँ तोकेको छ । त्यस्तै ८ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध बेन्को भी ९१ मा थप ८ जीबी र्याम बढाउन सकिन्छ ।
फाेनकाे मूल्य १५ हजार ३९९ रुपैयाँ तोकिएको छ ।