निजगढमा प्रदर्शन जारी : सिम्रौनगढ गोली काण्ड

मंगसिर ३०, बारा – प्रहरीले चलाएको गोलीबाट युवकको मृत्यु घटनालाई लिएर उनका आफन्त र नगरवासीले तेस्रो दिन पनि निजगढमा प्रदर्शन जारी राखेका छन् । घटनाको छानबिनसहित गोली हान्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मुख्यमन्त्री र मेयरले राजीनामा दिनुपर्ने लगायत माग राखी उनीहरूले पूर्व–पश्चिम राजमार्गको निजगढ खण्डमा प्रदर्शन गरिराखेका छन् ।

निजगढमा शनिबार २ बजेदेखि राजमार्ग ठप्प पारी टायर बालेर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा स्थानीय नगरवासी, मृतकका आफन्त, कांग्रेसका वहालवाला र पूर्वजनप्रतिनिधि, नेता, कर्मचारी, शिक्षकहरू छन् । सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच बुधबार भएको झडपको क्रममा प्रहरीको गोली लागी सिम्रौनगढ–१ ननसगराढाट गाउँका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो । उनको शव नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि आफन्तले शव बुझेका छैनन् ।

प्रदर्शनकारीले मुख्यमन्त्री सरोज यादव र मेयर किशोरी साह कलवारको राजीनामा, मृतकलाई क्षतिपूर्ति, गोली चलाउन आदेश दिने प्रहरी निरीक्षक रविभूषणमाथि कारबाही, मुख्यमन्त्री यादवको फोनको कल ट्रेस गर्न माग गरेका छन् । मुख्यमन्त्री र मेयरको उक्साहटमा प्रहरीले गोली चलाएको प्रदर्शनकारीको आरोप छ ।

सिम्रौनगढ नगरपालिकमा प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई मेयर साहले हाजिर गराउन खोजेपछि पाँच महिनादेखि नगरपालिकाको मूलद्वारमा तलब नपाएर आन्दोलनमा रहेका शिक्षक कर्मचारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । नगरपालिकामा नगरसभा हुन सकेको छैन । नगर अस्पताल महिनौंदेखि र विद्यालयहरू सातादेखि बन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *