नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ कानुन बनेपछि द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने विश्वास लिएको बताएका छन्।
टीआरसीसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस भएर बुधबारको बैठकमा छलफल भइरहेको छ। उक्त विधेयकमाथि बोल्दै सभापति देउवाले सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पीडा दिएको र लामो समयदेखि द्वन्द्व पीडितहरू न्यायको खोजीमा बसेको बताएका छन्।
‘उचित परिपूरण हुन नसकेका कारण पीडित स्वयं र परिवारजनले थप पीडा व्यहोर्नु परेको छ। यो विधेयक कानून बने पश्चात द्वन्द्वका सबै पीडितहरुले न्यायको अनुभूति गर्ने छन् भन्ने मैले विश्वास लिएको छु,’ सभापति देउवाले भने।