भरतपुर – बागमती प्रदेश सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएपछि चितवन जिल्लाभित्रको स्थानीय रूटको भाडादरमा पनि समायोजन गरिएको छ । जिल्लाभर स्थानीय सबैतर्फका रूटको भाडादरमा समायोजन गरिएको चितवन यातायात प्रालिका अध्यक्ष खेम आलेले जानकारी दिए ।
उनका अनुसार माडीको बगईदेखि टाँडीसम्म, गोलाघाटदेखि लोथरसम्मको भाडादरमा समायोजन भएको हो । लामो दूरीको भाडा घटेपछि जिल्लाभित्रका छोटो दूरीको भाडा पनि समायोजन भएको अध्यक्ष आलेले बताए । भरतपुरको रिङरोडमा म्याजिकलगायतका सवारीसाधनको प्रयोग गरेबापत अब २४ रूपैयाँ भाडा लाग्नेछ । म्याजिक चढ्नेबित्तिकै वा भरतपुर रिङरोडभरि यात्रा गरे पनि २४ भाडा लाग्नेछ । यसअघि २५ थियो ।
काठमाडौँमा किलोमिटरको आधारमा भाडा लाग्ने बनाइएको छ । काठमाडौँ उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा सार्वजनिक सवारीमा १८ रूपैयाँ भाडा लाग्छ । काठमाडौँमा १० किलोमिटरसम्म यात्रा गर्दा २४, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ र २० किलोमिटरसम्म यात्रा गर्दा ३२ रूपैयाँ भाडा लाग्ने बनाइएको छ, तर चितवनमा भरतपुर रिङरोडभरि यात्रा गर्दा एउटै भाडादर रू. २४ कायम गरिएको छ ।
भरतपुरको केन्द्रीय बसपार्कबाट जगतपुर कसरासम्मको भाडा ६५ बनाइएको छ । यसअघि ६७ रूपैयाँ थियो । भरतपुरबाट गीतानगरसम्मको भाडा ४६ र पटिहानीसम्मको भाडा ६० रूपैयाँ कायम भएको छ । भरतपुरदेखि विकासचोकसम्मको भाडा २८ छ भने प्रेमबस्तीसम्मको ३२ रहेको छ ।
भरतपुरदेखि माडी बरूवासम्मको भाडा १४७ छ । यस्तै, भरतपुरदेखि माडी वसन्तपुरको १६० रूपैयाँ कायम गरिएको छ । माडी बगईसम्मको भाडा २२२ रूपैयाँमा सीमित गरिएको छ । भरतपुर–बगईको भाडा २३० रूपैयाँबाट घटेर २२२ मा झरेको हो ।
भरतपुरदेखि टाँडी बजारसम्मको भाडा ४२ रूपैयाँ कायम भएको छ । भरतपुरदेखि पर्सा ५१ रूपैयाँ, भरतपुरदेखि भण्डारासम्म ७० र लोथर बजारसम्म १०३ रूपैयाँ कायम भएको चितवन यातायात प्रालिले जनाएको छ ।
यस्तै, भरतपुर केन्द्रीय बसपार्कदेखि मंगलपुरसम्मको भाडा ३७ रूपैयाँ बनाइएको छ भने रामपुरसम्म ४२ रूपैयाँ निर्धारण गरिएको छ । भरतपुरदेखि चनौलीको भाडा ५६ रूपैयाँ छ । भरतपुरदेखि ज्योतिनगरसम्म ८९ रूपैयाँ र पर्साढापसम्म ९८ रूपैयाँ तोकिएको यातायात प्रालिले जनाएको छ । भरतपुरदेखि गोलाघाटसम्मको भाडा ११७ र भरतपुरदेखि मेघौलीसम्मको भाडा १०३ रूपैयाँ निर्धारण गरिएको छ ।
भरतपुरदेखि पार्वतीपुरको भाडा ७० छ भने शिवनगरसम्मको भाडा ५१ रूपैयाँ रहेको छ । ‘नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि मूल्य घटेको थियो, त्यो आधारमा बागमती प्रदेश सरकारले भाडा समायोजन गरेपछि त्यसकै आधारमा स्थानीय रूटमा पनि भाडा समायोजन गरेको हो’, अध्यक्ष आलेले भने, ‘डिजेलको मूल्य बढेपछि फेरि भाडा बढ्नेछ, तर चाहेर भाडा बढाउन वा घटाउन पाइने छैन ।’
बागमती मन्त्रालयले जारी गरेको प्रदेश राजपत्रअनुसार उपत्यकाबाहिर चल्ने लामो दूरीको यात्रुवाहक सवारीमा २.३० प्रतिशत, मालवाहक सवारीसाधनमा ३.१ प्रतिशतले भाडा घटाइएको हो । मालवाहक सवारीमा प्रतिकिमी प्रतिटनको भाडा १३ रूपैयाँ ७४ पैसा लाग्नेछ । प्रतिटनमा भाडा १४ रूपैयाँ १९ पैसा घटाइएको छ ।
१५ केजीसम्म यात्रुलै निःशुल्करुपमा सरसामान बोक्न पाउनेछन् । त्यसभन्दामाथि १० केजीसम्म प्रतिकेजी ५ रूपैयाँको दरले भाडा लाग्नेछ ।
समायोजनपछि नारायणगढबाट काठमाडौँको भाडा ४२१ रूपैयाँ बनाइएको छ । रामपुर, चितवनबाट काठमाडौँको भाडा ४४७ रूपैयाँ छ । हाल चितवनको स्थानीय रूटमा करिब ४०० बढी सार्वजनिक सवारीसाधनहरु गुड्ने गरेका छन्, जसमध्ये आधा म्याजिक छन् । अन्य मिनीबस र बस पनि चितवनका स्थानीय रूटमा चल्ने गरेका छन् ।