चितवन – आफ्नै ६ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार र यौन हिंसा गरेको आरोपमा नवलपरासीको कावासोतीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घरमा तीन महिनादेखि श्रीमती नभएको बेला ६ वर्षीया बालिकालाई आफ्नै बुबाले पटकपटक यौन हिंसा गरेको घटनामा प्रहरीले आरोपित बुबालाई कावासोतीबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यायल नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले घटनाको अनुसन्धान भइरहेको र आरोपितलाई पक्राउ गरेको बताए । उनले भने, ‘घटना गम्भीर छ, बालिकाको आमालाई बोलाएर बालिकालाई आमाको जिम्मा लगाइएको छ । अब बालिकाको स्वास्थ्य परीक्षण गरेर कारबाही प्रक्रियालाई अगाडि बढाउने छौँ ।’
कावासोती नगरपालिका निवासी पीडित ६ वर्षीया बालिकामाथि विभिन्न समयमा बुबाबाट यौन हिंसा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी नरहरि रेग्मीले बताए । उनले भने, ‘यौन हिंसा भएको देखिन्छ, बलात्कार भएकोजस्तो देखिँदैन ।’
पीडित बालिकाले आफ्नो बुबाको व्यवहार अस्वाभाविक लागेपछि सँगै पढ्ने साथीहरुलाई बताएकी थिइन् । ती बालिकाको साथीले आफ्नी आमालाई खबर गरेपछि उनीहरुले विद्यालयमा खबर गरेका थिए । विद्यालयका प्रधानाध्यापकका अनुसार आफ्नो कानमा उक्त कुरा परेपछि बालिकासँग बुझ्दा पटकपटक यौन हिंसा र यौन दुर्व्इवहार गरेको खुलेपछि विद्यालयका शिक्षक शिक्षिकाहरुले प्रहरीलाई खबर गरेको हो ।
पीडित बालिकाकी आमा श्रीमानको यातना सहन नसकेर विगत तीन महिनादेखि घर छाडेर बाहिर काम गर्दै आएको बेला यो घटना भएको हो ।
प्रहरीले अहिले बालिकाको आमालाई झिकाएर बालिका उनको आमाको जिम्मा लगाएको छ । बालिकाको अब स्वास्थ्य परीक्षण हुने जनाइएको छ ।