रत्ननगर चितवन – पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ८ मा आज देखि चित्रसारी मेला लागेको छ ।
हरेक बर्ष हरिबोधनी एकदशीको अबसरमा लाग्ने सो मेला यस बर्ष आज देखि तीन दिन सम्म लाग्ने छ ।मेलाको मुख्य दिन भने भोली बिहीवार हो । विहीबार मेलामा अत्याधिक भीड हुनेभएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । मेलामा ४० जना जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ । मेलालाई लक्षित गरी रत्ननगर १ सौराहाचोकमा समेत प्रहरी परिचालन गरिएको छ ।
चित्रसेन बाबा मन्दिर संरक्षण समितिले मेलाको अगुवाई गर्दै आएको छ । यो चितवनकै सबैभन्दा पुरानो र एतिहासिक मेला पनि हो । दसैँ र तिहार सकिए लगतै लाग्ने सो मेला ६५० वटा स्टल राखिएको समितिका अध्यक्ष जलराम महतोले जानकारी दिए । मेलाको सम्पूर्ण तयारी पुरा भएको उनले जानकारी दिए । एकादशीमा ब्रत बसेको महिलाहरु चित्रसेन बाबा मन्दिरमा पुजा गर्न आउने र भक्तजनहरु मेलामा रमाउने चलन रहेको छ ।
ब्रत बसेका महिलाहरु भेलामा पाइने, फलफुल, उखु,सखरखण्ड लगायतका सामाग्री किनेर घर लैजाने चलन रहेको समितिका अध्यक्ष महतोले बताए । सो मेलाको प्रमुख आर्कषणको रुपमा उखु र राउण्ड बत्तीलाई लिने गरिएको छ । मेलामा पाइने उखु, सखरखण्ड, बदाम विशेष खानाको रुपमा खाने प्रचलन रहेको छ । सो मेलामा व्यवसायिक, खेल तथा रेष्टुरेन्टका स्टलहरु रहने छन् ।
राउण्ड बत्ती र रिङ सो मेलामा प्रमुख खेलहरु हुन् । चित्रसारी मेला तीन दिनको अबधिमा ६० हजार दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । यो धार्मिक मेला हो अध्यक्ष महतोले भने परापूर्वककाल देखि लाग्दै आएकोले यसको महत्व अहिले पनि उत्तिकै छ । मेलाबाट भएको आम्दानी चित्रसेन बाबाको मन्दिर व्यवस्थापनमा खर्च गरिदै आएको छ ।