खैरहनी चितवन – पूर्वी चितवनकाे खैरहनीमा आजदेखि नवाैं खिचरा महाेत्सव सुरु हुँदैछ ।
थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले आयाेजना गरेकाे साे महाेत्सव बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने छन् ।
माघी पर्वकाे अबसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा-साहित्य, कला-संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पुस २८ देखि माघ १० गते सम्म खैरहनी-५, गौचरनमा सञ्चालन हुने महाेत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ ।
आदिमकालदेखि नै आदिवासी थारु समुदायको बसोबास रहेको यस क्षेत्रमा चितवन जिल्लाकै पहिलो यस प्रक्तिको महोत्सवको आफ्नै विशेषता र महत्व रहेको छ। “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान” भन्ने मुल नाराका साथ आयोजना हुने यस वर्षको नवौ खिचरा महोत्सवलाई सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गर्नका लागि २०१ सदस्यीय खिचरा महोत्सव मुलआयोजक र १५ वटा विभिन्न विषयगत समितिहरु गठन गरिएका छन् ।
खिचरा महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभई सम्पूर्ण जातजातिहरुले गर्वको रुपमा लिने गरेकाे महाेत्सव मुल आयाेजक समितिका संयाेजक रामेश्वर चाैधरीले बताए ।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीयकला संस्कृक्तिको प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन गराउन १५० बटा स्टल रहेका छन्।
होटल स्टलहरुमा थारु जातिका साथ-साथै विभिन्न जातिका खानाका परिकारहरु रहनेछन्। यस्तै शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाहरुको स्टलहरु समेत गरिने छन्। महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसर समेत रहनेछ । महोत्सबकै अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
विगतका वर्ष झै यसवर्ष पनि महोत्सबमा प्रवेशका लागि टिकट शुल्क रुपमा रु.५० र विद्यार्थीका लागि परिचयपत्रको आघारमा रु.३०।- कायम गरिएको छ । जेष्ठ नागरिक र अपाङगहरुलाई पनि सहुलियत दरको टिकट कायम गरिएको छ भने टिकटघरमा हुने बत्यधिक भिडभाड नियन्त्रणका लागि डिजिटल प्रविधिबाट टिकट खरिद गर्नसक्ने व्यवस्था मिलाएकाे छ।
साँस्कृतिक कार्यक्रम तर्फ महोत्सव अवधिभर ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाच जस्ता साँस्कृतिक नाचगीतहरुको बेजोड प्रस्तुति रहनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा खिचरा डान्स आइडल रहनेछ ।
विगत वर्ष झै यसवर्ष पनि महोत्सवबाट विभिन्न विधामा नगदसहित सम्मान गरिनेछ ।
महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवन रहेको छ। महोत्सवको सह-आयोजकको रुपमा उद्योग वाणिज्य संघ खैरहनी तथा सहयोगी संस्थाको रुपमा खैरहनी चेम्बर अफ कमर्श, नेपाल विद्युत् प्राधिकरण टाँडी शाखा, पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था एवम् थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ देखि १० सम्म रहेको छ ।